Logo
Logo
नक्कली भुटानी शरणार्थी प्रकरण

टोपबहादुरसहित १० जनाको मुद्दामा अन्तिम सुनुवाइ सुरू



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत १० जनाले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ भइरहेको हो ।

अभियुक्त आङटावा शेर्पाले गएको माघ १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । त्यसपछि बाँकी नौ अभियुक्तले क्रमशः बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । पछिल्लोपटक चैत २५ मा न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा परेको प्रतिवादीको रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो । कुनै मुद्दा त्यही इजलासले टुंग्याउने भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा आज हेर्दाहेर्दैमा राखिएको र फैसला संशोधनको अर्को मुद्दा मात्र छ । पहिलो चरणमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका १० प्रतिवादीको मुद्दामा सुनुवाइ सुरु भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोपसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेतका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार, महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, प्रहरी प्रधान कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

पूर्वगृहसचिव पाण्डेसहित शमशेर मियाँ, आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, टोपबहादुर रायमाझी र डा. इन्द्रजीत राई काठमाडौं जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उच्च अदालतले पनि जिल्लाको आदेश सदर गरिदिए्पछि उनीहरू पुनः सर्वोच्च गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्