Logo
Logo

ठूला कम्पनीद्वारा चालु आर्थिक वर्षमा १ खर्ब ५१ अर्ब राजस्व दाखिला



काठमाडौं । १ अर्ब भन्दा धेरै कारोबार गर्ने ठूला कम्पनीहरूले ९ महिनामा १ खर्ब ५१ अर्ब ४ करोड १२ लाख कर दाखिला गरेका छन् । चालु आर्थिक वर्षमा कार्यालयले कुल लक्ष्यको ७७.१६ प्रतिशत राजस्व संकलन गरेको छ । कुल ५ सय ४३ करदाता रहेको यो कार्यालयले गत वर्षको तुलनामा १२.३५ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

यो आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर शीर्षकमा असुली भएको छ । यो शीर्षकमा ९१ अर्ब ४९ करोड २९ लाख संकलन भएको हो । कार्यालयको १ खर्ब ९ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो । तर लक्ष्यको ८३.३९ प्रतिशत संकलन भएको छ ।

यो शीर्षकमा बैंक तथा वित्तीय संस्थाले चालु वर्ष फर्दर पब्लिक अफरिङ (एफपीओ) र वार्गेन पर्चेज (मर्जर) शीर्षकमा १३ अर्ब ५ करोड कर संकलन भएको थियो । यसले गर्दा पनि कर संकलन वृद्धि भएको हो । यस्तै, अन्तःशुल्क शीर्षकमा ३३ अर्ब २६ करोड ६३ लाख राजस्व संकलन भएको छ । यो शीर्षकमा ९ महिनामा ४८ अर्ब ३४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा ३५ अर्ब २९ करोड लक्ष्यमा २३ अर्ब ४८ करोड मात्रै संकलन भएको छ । चालु वर्ष आन्तरिक अर्थतन्त्रमा दबाब देखिदा त्यसको असर राजस्वमा समेत देखिएको छ । धेरै राजस्व दाखिला गर्ने कम्पनीहरू अधिकांशको कारोबार कम देखिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्