
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।
पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका छ । उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ४ देखि साँझ ५ बजेसम्म आधा घण्टा बन्द हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।
भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् । उनी दुई दिने भ्रमण सकेर बुधबार स्वदेश फर्किनेछन् ।














