
काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी १८औँ लोकतन्त्र दिवस मनाइँदै छ । २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे । त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउँदै आइएको छ ।
२०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।
२०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलन आरम्भ भयो। २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको आन्दोलनले चैतमा गति लियो ।
नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। त्यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जग बन्यो।














