Logo
Logo

संविधान मास्ने षड्यन्त्र




एमालेको समर्थनमा तेस्रोपटक प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को औचित्य समाप्त भएको छ । नेपाली कांग्रेससँग सहकार्य तोड्दा प्रचण्डले वाम गठबन्धन भनेका थिए । त्यतिबेला सबैले आगामी निर्वाचनसम्म वाम गठबन्धन टिक्छ भन्ने सोचेका थिए ।

तर, एमाले सरकारमा सहभागी भएको दुई महिना बित्दा नबित्दै ओलीले वाम गठबन्धनको औचित्य समाप्त भएको घोषणा गर्दै एमालेलाई एकल बहुमतमा पुर्याउने दाबी गरे । वाम मोर्चालाई होच्याउने काम गरे । इलाम र बझाङको उपनिर्वाचनमा गठबन्धन दलहरुबीच नै मतभेद सुरु भयो । यसको मतलब यो गठबन्धनको सरकार धेरै दिन टिक्दैन भन्ने संकेत हो ।

ओली प्रचण्डसँग कति रुष्ट छन् भन्ने कुरा गोदावरीमा सम्पन्न एमालेको राष्ट्रिय परिषद् बैठकबाटै उजागर भयो । अध्यक्ष ओलीले पुरानो घाउ कोट्याउदै आफ्नो प्रतिवेदनमै ‘एकता महाधिवेशनसम्म सहमतिका साथ पार्टी चलाउने समझदारीलाई साविकको नेकपा (एमाले) भित्र खेलेर कथित बहुमतको दाबी गर्ने, समूहबन्दीका आधारमा भागबण्डा खोज्ने, अलग बैठक/भेला गर्ने, आफ्नै सरकारका विरुद्धमा खडा हुने, पार्टीभित्र निरन्तर बिग्रह खडा गरिरहने जस्ता क्रियाकलापले एकतालाई अघि बढ्न दिएन’ भनेका छन् । त्यसैगरी आफू नेतृत्वमा नदोहोरिने घोषणा गर्दा पनि उल्टै आफूलाई नै पार्टीबाट निष्काशन गर्नेजस्ता एकताविरोधी र हास्याँस्पद निर्णयका कारण नेकपाको एकता भाँडिएको निष्कर्ष ओलीको छ ।

यो संविधानमाथि कसैबाट खतरा छ भने त्यो एमालेबाटै छ । त्यसको पुष्टि दुई–दुई पटक रवि लामिछानेलाई गृहमन्त्री बनाउने र प्रतिगामीसँग चुनावमा सहकार्यले गर्छ ।

राष्ट्रिय परिषद् बैठकमा ओलीको प्रतिवेदन पढ्ने जो कोहीले पनि कांग्रेससँगको गठबन्धन भत्काउनका लागि मात्रै एमाले प्रचण्डको सरकारमा सहभागी भएको बुझ्न कठिन छैन । ओलीको दाउ यो सरकार ढालेर मध्यावधिमा जाने कुरामा केन्द्रित छ । ०७९ मा कांग्रेससँग गठबन्धन गर्दा माओवादी र एकीकृत समाजवादीले केही सिट जितेको भए पनि अब कांग्रेस र एमाले अलग अलग निर्वाचनमा होमिँदा माओवादी र समाजवादीको पत्तासाफ हुन्छ भन्ने उनको बुझाई छ । त्यसका लागि एकीकृत समाजवादीका केही सांसदलाई एमालेबाटै टिकट दिएर एकीकृत समाजवादीलाई समाप्त पारेरै छाड्ने ओलीको भित्री रणनीति छ ।

वास्तवमा, पुस ५ गते संसद् विघटन नगरेको भए आजका दिनसम्म कम्युनिष्ट पार्टी धेरै बलियो भइसक्ने थियो । तर, संसद् विघटनको घटनाले एमाले र माओवादी अलग मात्र भएन, एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी पनि जन्मियो । यसबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई कति घाटा पर्याे, त्यसको लेखाजोखा ओलीको प्रतिवेदनमा छैन । ‘किन रोइस मंगले आफ्नो ढंगले’ भनेझैँ एमाले, माओवादी एकता टुक्रनु र माधव नेपालले विद्रोह गरेको कुरालाई ओली गौरवको विषय ठानेका छन् ।

कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन देशी–विदेशी शक्ति लागेको कुरा पनि ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘सर्पको खुट्टा सर्पले देख्छ’ भनेझैं पुस ५ गतेको प्रतिगमन निम्त्याउन कुन विदेशी शक्ति लागेको थियो भन्ने कुरा ओलीबाहेक अरुले बुझेका छैनन् । किनभने, कात्तिक अन्तिम साता विशेष विमान चढेर जो बालुवाटार पुगेको थियो, उसैको उक्साहटमा संसद् विघटन गरियो । विघटनपछि आफ्नो हालत के हुन्छ भन्ने कुरा ओलीले बुझ्न सकेनन् । किनभने, ओलीलाई सत्ताच्युत गर्न र माओवादीसँगको एकता भाँड्न ओलीनिकट नेताहरु लागेका थिए, जो विदेशी एजेन्ट थिए ।

यी सबै कुराहरुलाई लुकाएर ओलीले प्रतिवेदनमा जे जस्ता कुरा उल्लेख गरेका छन्, त्यो हात्तीको देखाउने दाँत मात्र हो । यो संविधानमाथि कसैबाट खतरा छ भने त्यो एमालेबाटै छ । त्यसको पुष्टि दुई–दुईपटक रवि लामिछानेलाई गृहमन्त्री बनाउने र प्रतिगामीसँग चुनावमा सहकार्य गर्ने पनि ओली नै हुन् ।

यस अर्थमा वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य अझै समाप्त भएको छैन, अरु बढेर गएको छ । प्रायः सबै दलको तयारी मिसन ८४ मा केन्द्रित छ । त्यसको परिणाम पनि कांग्रेस र एमाले नै पहिलो र दोस्रो शक्ति बन्नेछन् । सरकार बनाउन फेरि पनि अंक गणितकै खेल हुने भएकोले संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक शक्तिको खाँचो पर्दछ ।

नेपालको राजनीतिक इतिहासमा वाम–लोकतान्त्रिक शक्ति मिल्दा जुन सफलता हासिल भएको छ, फुट्दा त्यो गुमेको पनि इतिहास छ । ०४६ को आन्दोलन सफल भएपछि ०४८ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक शक्ति मिल्नुपर्ने प्रस्ताव जननेता मदन भण्डारीले गरेका थिए । त्यो कुरालाई स्मरण गर्दै अगाडि बढ्न सकिएन भने न त संविधान कार्यान्वयन हुन्छ, न त संविधान नै जोगिन्छ ।

वाम एकताको औचित्य समाप्त भयो भन्नुको अर्थ संविधान नै समाप्त पार्ने खेल हो भन्ने कुरा बुझ्न ढिलो गर्नुहुन्न । किनभने, ओलीले दुई दुई पटक विघटन गरेको संसद सर्वोच्च अदालतले पुनस्र्थापना नगरेको भए त्यही जगमा प्रतिगमन जन्मिने थियो । त्यसको नेतृत्व स्वयं ओलीले आजन्म गर्ने थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा यस घटनालाई केशरजंग प्रवृत्ति भनिन्छ भने अन्तर्राष्ट्रियमा गोर्वाचोभ प्रवृत्ति । आखिर यी दुई नेता पनि कम्युनिष्ट नै थिए ।

प्रतिक्रिया दिनुहोस्