Logo
Logo

ओलीको प्रतिशोधका कारण बिरक्तिए भीम रावल, एमाले छाड्ने संकेत 



काठमाडौं । कुनै समय सुदूरपश्चिममा नेकपा एमालेको खम्बा मानिन्थे भीम रावल । तर, अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधको कारण उनी अहिले एमालेबाटै किनारा लाग्दै गएका छन् । 

ओलीको प्रतिशोधकै कारण उनी पार्टीका महत्त्वपूर्ण बैठकहरूमा उपस्थिति हुन छाडेका छन् । अध्यक्ष ओलीको आँखाको कसिङ्गर बनेका रावललाई अहिले पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन । चितवनमा भएको एमालेको १०औँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा  लडेपछि उनीलाई ओलीले किनारा लगाउन थालेका हुन् ।

यही वैशाख ८ र ९ गते काठमाडौँको गोदावरीमा एमालेको  राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्यो । देशभरिका महाधिवेशन प्रतिनिधि बैठकमा सहभागी भए पनि नेता रावल भने सहभागी भएनन् । 

रावल कहाँ छन् कसैलाई चासो भएन ।  उनलाई बैठकमा निम्त्याउनुलाई एमाले शीर्ष नेत्तृत्वले आवश्यक नै ठानेन । त्यसपछि एमाले अध्यक्ष ओलीले आफूमाथि प्रतिशोध साँधेर प्रतिनिधि परिचयपत्र समेत नबनाइदिएपछि बैठकमा आफू उपस्थित नभएको उनले जानकारी दिएका थिए । 

अध्यक्ष ओलीको कारण किनारामा पुगेका रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ ।’

घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्ने उल्लेख गर्दै रावलले आफ्नो हकमा पनि त्यही हुनसक्ने भन्दै एमाले छाड्न सक्ने संकेत गरे । उनले भने, ‘एउटा घुम्तीमा पुगेको जस्तो मैले महसुस गरेको छु । त्यो घुम्ती पुग्दा जोसुकै पनि  अर्को मोडमा लाग्न सक्छ’, उनले भने, ‘भविष्यमा त्यो मोड कस्तो हुने छ भन्ने कुरा फेरि बताउने नै छु ।’

आफू विधि र नेपालको राष्ट्रिय हितको पक्षमा उभिँदा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा सहभागी हुनबाट वञ्चित गराइएको पनि उनले दाबी गरे । 

ओलीको प्रतिशोधको शृङ्खला

विगतमा अध्यक्ष पदबाट हारेका व्यक्तिलाई एमालेमा सम्मानित वा वरिष्ठ नेताको पद दिने चलन थियो । तर रावलको हकमा भने त्यो पनि लागु भएन । १०औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीलाई चुनौती दिएकै कारण रावलले उक्त पद नपाएका हुन् । त्यसबाहेक गत मंसिरमा एमालेले मध्यपहाडी लोकको झुलाघाटदेखि चिवाभन्ज्याङसम्म संकल्प यात्रा गर्याे ।  यात्रामा सबै शीर्ष नेताहरू सहभागी भए, तर रावललाई भने कहीँ पनि समावेश गराइएन । 

रावलकै गृह जिल्लामा पनि ओली सहितका शीर्ष नेताहरू पुगेर तीन ठाउँमा कार्यक्रम गरे । त्यहाँ पनि रावल बोलाइएनन् । करिब ५ दशकदेखि रावल एमालेको राजनीतिमा छन् । तर राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दाजस्तो कठिन र पेलान उनलाई कहिल्यै भएन । 

द्वन्द्वको कारण

ओली र रावलबीच द्वन्द्वको कारण १० औँ महाधिवेशनलाई मानिन्छ । १० औँ महाधिवेशनमा अध्यक्षमा ओलीलाई रावलले चुनौती दिएका थिए । त्यसबाहेक रावल ओलीका क्रियाकलापहरू प्रति खरो आलोचना गर्न चुक्दैनन् । यो कारण पनि ओली उनीसँग रुष्ट हुँदै आएका हुन् । त्यसबाहेक ओलीले पार्टी विभाजनको विपक्षमा उभिएका विरोधी समूहलाई साथ लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएपनि हुबहु नगर्ने अडान लिएपछि उनीहरूको विवाद झन् चर्किएको हो । ओलीले गएको निर्वाचनमा रावललाई उम्मेदवारको टिकट समेत दिएनन् । सुदूरपश्चिमका रावलको खोजी हुँदा ओली सार्वजनिक रुपमै बम्किन्थे । 

ओली र रावलबीचको असन्तुष्टिलाई समाधान गर्न पार्टी भित्र वार्ता समिति समेत बनेको छ । तर पनि समस्या समाधान हुन सकेको छैन । ओलीको स्वेच्छाचारी शैली नै यो विवादको मुख्य जड भएको विश्लेषकको भनाइ छ । 

२०६५ सालमा बुटवलमा भएको एमालेको ८ औँ महाधिवेशनमा केपी ओलीको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएर पराजित बनेका रावल २०७१ सालमा काठमाडौंमा भएको ९ औँ महाधिवेशनमा माधव नेपालको प्यानलबाट सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी बनेका थिए । तर त्यसयता भने उनको ओरालो यात्रा सुरु भयो । एमाले र माओवादीको एकतामा बनेको नेकपाको सचिवालयमा समेत उनी अटाइएनन् । 

नेकपा फुटपछि एमालेभित्र चेपुवामा परेका रावल माधव नेपालले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाउन सँगै गएनन् । बरु एमालेमै बसे । तर एमालेमै रहेर पार्टी फुटाउनुलाई निको नमानेका तीनै रावल अहिले ओलीको उपेक्षाका कारण बिस्तारै पार्टीभित्रै ओझेल हुँदै गएका छन् । 

प्रतिक्रिया दिनुहोस्