Logo
Logo

साइबर अपराध सम्बन्धी उजुरीका चाङ्, ७३ जना मात्र पक्राउ



काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १५ हजार ६ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । ती मध्ये फेसबुक र म्यासेन्जर दुरुपयोग सम्बन्धी १२ हजार २९६ वटा उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार भाइवरका १८, इमोका ९, युट्युबका ५१, ह्याट्सएपका ७ सय २४, ट्विटरका १०, इन्स्ट्राग्रामका ६ सय ८६, वेभसाइड १०, टिकटकका ६ सय ७८, इमेलका ९३, ई सेवाका २ सय ६६ र बैंक तथा वित्तीय संस्थातर्फ १ सय ६५ वटा उजुरी परेका छन् । 

ब्युरोका अनुसार उजुरी परेर मुद्दा चलेका ७३ जनालाई ब्युरोले पक्राउ गरेको छ भने कतिपयलाई सम्झाई बुझाई सहमतिमा ल्याउने गरेको छ । बन्द कोठामा लुकेर इन्टरनेटको अनधिकृत प्रयोग गर्ने र अपराध गर्नेहरू पछिल्लो समय ह्वात्तै बढेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले अपराधीलाई निगरानी गर्ने र अनुसन्धानको दायरामा ल्याउने र अपराधी ठहरिए कानुनी कारबाही गर्ने गरेको छ । 

उजुरीको आधारमा पक्राउ पर्नेहरूको संख्या अत्यन्त न्यून हो । पछिल्लो समय लुकीछिपी अपराध गर्नेहरू प्रहरीको फन्दामा मात्रै परेका छैनन्, यस्तो अपराधको ग्राफ पनि रातारात दोब्बरले बढिरहेको छ ।

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्न ब्युरो सक्रिय रहेको दाबी गरे । प्रविधिको दुरुपयोगका कारण अपराधमा नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको डिआइजी ढकालले बताए ।

सरकारले साइबर चुनौतीको सामना गर्दै वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग भई हुने अपराधको रोकथाम तथा अनुसन्धान गर्ने उद्देश्यले साइबर ब्युरो स्थापना गरेको थियो । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थाले साइबर अपराध सम्बन्धी निवेदन दर्ताको चाप बढ्दो क्रममा रहेको बताए ।

अश्लील तस्बिर फोटो तथा भिडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने अपराधी सक्रिय छन्,’ उनले भने, ‘अरूको गोप्य सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिने घटना देखा परेका छन् ।’

एकै दिनमा दर्जनौँ उजुरी परेपनि आवश्यक जनशक्तिको अभावमा फर्छ्योट हुन नसकेको ब्युरोको स्वीकारोक्ति छ ।

प्रतिक्रिया दिनुहोस्