Logo
Logo

निर्माणमा भ्रष्टचार गरेको आरोपमा ८ जनाविरुद्ध मुद्दा


504
Shares

काठमाडौं । उपभोक्ता समितिमार्फत निर्माणको काममा भ्रष्टचार गरको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।

त्यस्तै सोरु गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र वडा नं ७ का तत्कालीन अध्यक्ष राजेन्द्र बुमीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ । अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्