Logo
Logo

सामाजिक सञ्जालमा आशा र आक्रोश


315
Shares



सामाजिक सञ्जाल युवाहरूको आक्रोशले भरिएको मात्र छैन, उनीहरूलाई देशको माया पनि छ । देशमै बसेर केही गर्न पाए हुन्थ्यो भन्ने अपेक्षा पनि छ । त्यसैले युवाले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश र अपेक्षा सम्प्रेषण गर्ने गर्छन् ।

सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो प्रयोगले जनमानसमा सकारात्मक, नकारात्मक सोचको विकास भइरहेको छ । सकारात्मक सोच हुनेहरूले देशमै केही गर्न सकिन्छ, नेपालजस्तो सुन्दर देश विश्वमा कहीँ पनि छैन ।

त्यसैले हामी नेपालीले नेपाल नबनाए अरू कसले नेपाल बनाउँछ भन्ने चिन्ता व्यक्त गरेको पाइन्छ । साथै, विदेश गएर दुःख कष्ट झेलेका नेपाली युवाहरूले गाउँघर फर्किएर कृषि कर्म गरेर लाखौँलाख कमाएको फोटोहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिन्छ ।

नकारात्मक सोच राख्नेहरूले राजनीतिक दलका नेताहरू भ्रष्ट भएकाले देश बर्बाद भएको निष्कर्ष निकाल्न थालेका छन् । देश बनाउन सबैभन्दा पहिला सुशासन कायम हुनुपर्छ, तर ‘जो चोर उसैको ठूलो स्वर’ भनेझैँ जो बढी भ्रष्ट छ, उसैले सुशासनको चर्को गफ हाँक्ने गरेको छ ।

निर्वाचनमा पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने गफ हाँक्छन्, काठमाडौँ रिङरोडमा पाँच वर्षभित्र विद्युतीय रेल कुदाउने भाषण गर्छन्, घर घरमा खाना पकाउने ग्यासको पाइप जोड्ने आश्वासन बाँड्छन्, कोशी नदीबाटै कोलकाता बन्दरगाह जोड्ने सपना देख्ने मात्र होइन, पानीजहाज कार्यालय नै उद्घाटन गर्छन् आदि इत्यादि यस्ता बकमफुसे कुराले नेता भनेपछि जनता वाक्कदिक्क भएका छन् ।

आजका युवा भोलि देशका कर्णधार मात्र होइन, प्रधानमन्त्री, मन्त्रीदेखि देश सञ्चालन गर्ने जनशक्ति पनि हुन् । तिनीहरूको भविष्यका लागि हामीले कस्तो वातावरण निर्माण गरिदिनुपर्छ भन्ने कुरा प्रमुख कुरा हो ।

किनभने, पहिलो पुस्ताका नेताहरू भ्रष्ट भए भन्ने आरोप छ । दोस्रो पुस्ता त्यही बाटोबाट लम्किरहेको छ । हुँदा हुँदा नयाँ पुस्ताले आशा र भरोसा गरेका युवा नेता पनि भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि नयाँ पिँढीका युवाले को बाट आशा गर्ने ? हो, आम युवाको निराशा यहीँबाट सुरु भएको छ ।

२०४६ पछि जन्मिएका युवाहरूलाई विगतमा राजनीति कस्तो थियो, कुन नेताले राजनीतिक परिवर्तनमा के कस्तो योगदान दिए, त्यसको मतलब छैन । मतलब छ त राजनीतिक परिवर्तनपछि त्यो राजनीतिक परिवर्तनले देश र जनतालाई के दियो भन्ने हो ।

३० वर्ष भनेको चानचुने कुरा होइन, अन्य देशले ३० वर्षमा उल्लेख्य आर्थिक विकास गर्न सक्छन् भने नेपाल किन पछाडि प¥यो भन्ने जिज्ञासा आजका युवाहरूमा छ । यो जिज्ञासाभित्र राजनीतिक दलको असफलता, अराजकता र भ्रष्ट मनोवृत्ति लुकेको छ । जसका कारण धनी देशका गरिब जनता भनेर हामीले हामीलाई धिक्कार्नुपर्ने अवस्था आएको छ ।

सामाजिक सञ्जालमा पोखिने यस्ता कुराहरूलाई नेताहरूले मनन गर्न छाडेका छन् । आफूलाई सुधार्नुको साटो नेताहरू अझै पनि उल्टो बाटोमा हिँडिरहेका छन् । एकले अर्कालाई ‘चोर’ भनेर औँला ठड्याउनुबाहेक हामी सद्दे छौँ, अब हामीले मिलेर देश बनाउनुपर्छ भनेर भनेको सुनेका छैनौँ ।

अस्ति मात्र एकजना नेताले दुई तिहाइको सरकार नढालेको भए, एमाले भन्ने पार्टी जोगिने थिएन भनेर कतै भाषण गरेको सुनियो । ती नेताले दुई तिहाइको सरकार ढाल्नुलाई गर्व गरे । आफूलाई बहादुर सम्झिए । यस्ता मूर्ख नेता देशमा हुँदासम्म देशको विकास सम्भव छैन ।

आज देशमा जे जति राजनीतिक अस्थिरता सिर्जना भएको छ, त्यसको प्रस्थानविन्दु भनेकै पुस ५ को प्रतिगमन हो । पुस ५ गते संसद् विघटन नगरेको भए देशले एउटा ‘कोर्ष’ लिइसकेको हुन्थ्यो । सरकारप्रति आम जनताको आशा जागेको हुन्थ्यो ।

दुईतिहाइ भनेको चानचुने कुरा थिएन । सनकको भरमा संसद् विघटन भएपछि त्यसले देशमा राजनीतिक अस्थिरता निम्त्यायो । संसद्मा कसैको बहुमत आएन । तैपनि अस्थिरतामा रमाउने नेताहरूले देशका लागि होइन, आफ्नो स्वार्थका लागि सत्ताको खेल खेलिरहेका छन् ।

भारतीय नाकाबन्दीमा नेताहरूले राष्ट्रिय अडान लिएपछि आम युवाले राजनीतिक स्थिरताका लागि कम्युनिष्ट पार्टीलाई भोट दिएका थिए, त्यो भोट प्रतिगमनका लागि थिएन, अग्रगमनका लागि थियो । तै पनि संसद् भंग गरेर ठिक गरेँ भन्दा ताली ठोक्ने नेता र कार्यकर्ता यो देशमा बाचुञ्जेल देशको हालत यस्तै हुने हो । उनीहरूमा युवाको भविष्यप्रति कहिले चेत पलाउँला ? भन्ने चिन्ता नै अहिलेका युवाको आशा र आक्रोश हो ।

प्रतिक्रिया दिनुहोस्