वाचडग : मदन शालिक होइनन्, विचार हुन्


Published On : 19 May, 2020

  • शम्भु श्रेष्ठ

हरेक वर्षको जेठ ३ गते हामीले मदन–आश्रित स्मृति दिवश मनाउँदै आएका छौँ । यो दिन सिँगो नेपाली जनता शोकाकुल भएको दिन हो । दासढुंगामा जीप दुर्घटनामा परेर मदन–आश्रितले जीवन गुमाएको पनि आज २७ वर्ष पुगिसक्यो । यो २७ वर्षमा त्रिशुलीमा धेरै पानी बगिसक्यो । तर, मदन–आश्रितको रहस्यमय हत्या अझै रहस्यम नै छ । एमालेको नौ महिने सरकारका तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले बनाएको प्रतिवेदनमा हत्या भएको उल्लेख गरिएको थियो । तिनै ओली आज नेपालको शक्तिशाली कार्यकारी प्रमुख छन् । तर, पनि हत्या रहस्मय छ ।

फाइल फोटो

मदन भण्डारी चोक–चोकमा शालिक बनाएर पुजा गर्न जन्मेका नेता थिएनन् । उनी सादाजीवन उच्च विचारका नेता थिए । आज नेपाल कम्युनिष्ट आन्दोलन जुन जगमा उभिएको छ, त्यो जग भनेकै ‘जनताको बहुदलीय जनवाद’ हो । यही विचारलाई स्वीकारेर १० वर्ष जनयुद्धमा होमिएको माओवादी पनि शान्ति प्रक्रियामा आउन बाध्य भयो ।
यतिमात्र होइन, तीस वर्षे पञ्चायती निरंकुश शासन व्यवस्था ढालेर निरंकुश राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा बाँध्ने काम पनि भण्डारीकै अगुवाइमा भयो । ०४४ सालमा नेकपा मालेको महासचिव निर्वाचित भइसकेपछि भण्डारीले पञ्चायती निरंकुशविरुद्ध नेपाली कांग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने निर्णय गरे । आखिर त्यही निर्णयको जगमा बहुदलीय व्यवस्था स्थापना भएपछि त्यो व्यवस्थालाई संस्थागत गर्न दुई वटा आमनिर्वाचनमा कांग्रेस र कम्युनिष्ट पार्टी मिलेर जानुपर्ने अवधारणा अगाडि सारे ।
मदन भण्डारी चाहन्थे, ‘लामो राजनीति इतिहास बोकेका नेताहरुलाई चुनावी प्रतिस्पर्धामा उतार्नुभन्दा ‘तालमेल’को नीतिद्वारा संसदमा पठाउनुपर्छ ।’ भण्डारीले यो कुरा सार्वजनिक रुपमै आह्वान गरे । उनले भने, ‘हाम्रा नेता मनमोहन अधिकारीलाई सुनसरी र कृष्णप्रसाद भट्टराईलाई काठमाडौं एकमा तालमेल गरौँ ।’ यो कुरा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई मनपरेको थिएन । त्यसैले भट्टराईले भण्डारीसँग चुनाव हार्नुप¥यो ।
जुन दिन भट्टराई कांग्रेसकै अन्र्तघातबाट चुनाव हारे, त्यही दिनदेखि नेपाली राजनीतिमा अन्र्तघात, गुट र फुटको राजनीति विकृति सुरु भयो । त्यही विकृतिको जगमा माओवादी जन्मियो र देश दशवर्षे ‘जनयुद्ध’मा फस्यो । यदि मदन भण्डारी जिवित भइदिएको भए नेपालको राजनीतिले बाटो बिराउने थिएन । न त माओवादीकै उदय हुन्थ्यो । जस्तोसुकै राजनीति समस्याको समाधान गर्ने उपाय भण्डारीसँग थियो ।
भण्डारी कतिसम्म उद्दार नेता थिए भने, उनले माक्र्सवादीसँग पार्टी एकता गरेपछि वयोबृद्ध नेता मनमोहन अधिकारीलाई उनले कम्युनिष्ट आन्दोलनको अभिभावकत्व सुम्पिए । अधिकारीलाई एमालेको पहिलो अध्यक्ष बनाए । आफू महासचिवमै बसे । भण्डारीले ‘जबज’को परिकल्पना गरिरहँदा शान्तिपूर्ण संघर्षबाट पनि कम्युनिष्ट पार्टी सत्तामा पुग्न सक्छ र समाजवादको लक्ष्य हासिल गर्न सक्छ भन्ने दृढ अढानमा थिए ।
तर, आज तिनै मदन भण्डारी हाम्रो बिचमा छैनन् । उनको विचारले सिँगो देश अगाडि बढिरहेको छ । विश्वकै इतिहासमा शान्तिपूर्ण संर्घषबाटै नेपाली जनताले गणतन्त्र स्थापना गरेका छन् । र, समाजवाद उन्मुख संविधान बनेको छ । अहिले देशमा नेकपा एमाले र माओवादी केन्द्र एक भएर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाइको सरकार छ । त्यो सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । तर, दूर्भाग्य मदन भण्डारीले सोचेको आर्थिक क्रान्तिको बाटो पार्टीले समाउन सकेको छैन । एमालेको राजनीतिमा भिजेका थुप्रै अर्थशास्त्रीहरु निर्वाचन जितेर आएका छन् । तर, अर्थमन्त्री गैरकम्युनिष्ट छन् । विश्व बैंकका कर्मचारीबाट मदन भण्डारीले सोचेको समाजवादमा नेपाल कसरी रुपान्तरण होला भनेर कम्युनिष्ट नेताहरुले नै चिन्ता व्यक्त गरिरहेका छन् ।
अन्त्यमा पदका लागि ‘जबज’लाई बिच बाटोमा छाडेर पार्टी एकता गर्नेहरु पदको लडाइँमा होमिएका छन् । पार्टी सिद्धान्त, विचार र पद्दतिसम्मत ढंगबाट चल्नुपर्नेमा व्यक्तिवादी हैकमबाट चल्न थालेको छ । बालुवाटारको भित्तामा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको तस्बिर राख्ने ठाउँमा आफ्नै अनुहार झुण्डाइएको छ । तिनै भित्तामा झुण्डाइएका अनुहार बाटो, चौबाटोमा ठड्याइएको मदन भण्डारीको शालिकमा माल्यापर्ण गर्न हतार गर्दैछन् । कतै यो शैली मदन भण्डारीको विचार बाहिरको कुरा त होइन ? किनभने, मदन भण्डारीले शालिक बन्न राजनीति गरेका थिएनन् ।

– मंगलबार, ६ जेठ २०७७

प्रतिक्रिया दिनुहोस्