विभिन्न नामले प्रसिद्ध माता भगवती, नारी शक्ति पूजाको एक प्रतीक हो, जहाँ नारीको विभिन्न अवतारहरु देख्न सकिन्छ र यीनै भिन्न अवातारहरुको पूजानै नवरात्रि हो । नवरात्रि अर्थात दुर्गा भगवतीको पूजा आराधना, सनातन धर्म अनुसार स्त्री अर्थात देवीको तीन वटा आयाम हरु छन् एक दुर्गा, शक्तिकी देवी भनेर चिन्छौँ दोस्रो लक्ष्मी जसलाई धनकी देवी भनेर चिन्छौँ र तेस्रो विद्याकी देवी भनेर चिन्छ ।
नवरात्रिमा विशेष भगवती दूर्गाको पूजा, आराधना गरिन्छ । नौ दिनसम्म व्रत लिने नवरात्री र विजयदशमी दुर्गा पूजा अर्थात् एक नारी शक्ति पूजाका साथै अस्तित्वका तीन मूल गुणहरुका प्रतीक हुन् । तमस, रजस, सतत्व अर्थात अस्तित्वका तीन मूल गुणहरु तमस अर्थात जडता, राजस अर्थात सक्रियता, सतत्व अर्थात विलीन हुनु, वा एक हुन् ।
आश्विन शुल्क प्रतिपदाका दिनलाई घटथापना भनिन्छ । यसै दिनबाट नवरात्रि शुरु हुन्छ, भगवती मातालाई जमरा अति मन पर्ने भएको हुदा घटस्थापनाकै दिन कलश स्थापना गरी गणेश, दियो पूजासँगै पूजा कोठामै जौ छर्ने चलन छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।
मानिसहरुमा बल वा शक्तिको आकांक्षा राख्ने गर्दछन उनीहरुले दुर्गा, काली जस्तै भगवातीहरुको पूजा गरेको पाइन्छ जो मानिसहरु धन धान्य पूर्ण हुन् चाहन्छन उनेहेरुले लक्ष्मीको आराधना गरेको पाइन्छ र जो मानिस ज्ञानको खोजी– चासो,कला,संगीत– साधना र ज्ञान प्राप्त गर्ने, नश्वर शरीरको सीमा भन्दा पर जाने इच्छा भएकोहरु विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेको पाइन्छ ।
ब्रह्मावैवर्त पुराण अनुसार वर्णन गरिएको नवदूर्गा यी हुन् : प्रकृति, पूर्व – आग्नेय, भद्रकाली– गक्शिण, सर्वामंगला– वायव्य, वैष्णवी– उत्तर, शिवप्रिय– ईशान, जगदम्बिका– जल, थल र आकाश ।
चारै दिशामा विराजमान भएको दूर्गा भगवतीलाई शक्तिको रुपमा पूजा आराधना गर्ने गरिन्छ । नवरात्रिको अवसरमा दूर्गा पूजासँगै अन्य देवी स्थलमा गई पूजा आराधना गर्ने चलन छ जस्तै मा पाथीभरा, कालिञ्चोक भगवती, कालिका बागलुङ्ग, मनोकामना इत्यादि ठाउमा गई पूजा आराधना गरेको पाइन्छ ।
पहिलो दिन शैलीपुत्री, दोस्रो दिन ब्रह्चारिणी ,तेस्रो दिन चन्द्र घण्टा , चौथो दिन कुस्मनडा, पाँचौ दिन स्कन्द माता, छैँठौ दिन कात्यायनी, सातौ दिन कालरात्रि, आठौ दिन महागौरी, नवौ दिन सिद्धिदात्री । यी सबै भगवतीको रुपहरु हुन् । नौ दिनसम्म क्रमशः सबै रुपलाई पूजा गरिन्छ । वास्तवमा महाशक्ति नै परब्रम्हाको रुपमा प्रतिष्ठित हुनुहुन्छ, जो विभिन्न रुपमा अनेक लीला गर्ने गरेको पाइन्छ ।
भगवतीको शक्तिद्वारा ब्रम्हा विश्वको सिर्जना गर्छन् । विष्णुले पालना गरेको पाइन्छ र भगवतीनै जगतका सिर्जना–पालन–संहार गर्ने आदिनारायणकी शक्ति हुन् । यी महाशक्ति नौ दुर्गा तथा दशवटा महाविद्याको रुपमा प्रतिष्ठित छिन् । परमात्मा स्वरुप महाशक्ति विविध रुपमा सर्वत्र क्रीडा गर्छिन् । ‘शक्ति क्रीडा जगत सर्वम’ सम्पुर्ण जगत शक्तिकोनै क्रीडा हो ।
ब्राहमणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, नरसिहीं, एन्द्री, शिवादूती भीमादेवी भ्रामरी, शाकम्भरी आदिशक्ति र रक्तदन्तिका अन्य रुपमा चिनिन्छ । भगवतीका अनेकौ रुपहरु छन् । जसमध्ये सती, काली, पार्वती, उमा, तारा, छिन्नमस्ता, त्रिपुरा भैरवी, धुमावाती, भुवनेश्वरी, बंगलामुखी मातंगी र कमला इत्यादि नामले बोलाउने वा पूजा आराधना गर्ने चलन छ । असत्य माथिको सत्यको विजयको प्रतीकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने चलन छ ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरी गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् । वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ ।
नवरात्रिमा अष्टमीको बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट यी दश प्रकारका विकारहरू छन् । यिनै विकारहरुबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावका साथ दशैँ अर्थात विजयदशमी मनाउने अर्को अर्थमा हो ।
कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर, मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले ।
बलिप्रथा किन र के हो बुझौँ
बलि दिने बिषयमा भन्नुपर्दा एसियाकै सबैभन्दा बढी बलि दिने ठाउँ नेपाल भनेर चिनिन्छ वा मानिन्छ । वैदिक कालमा यो प्रथा थिएन, मध्यकालमा तान्त्रिक अश्वक्रान्त र रथक्रान्त जस्ता धूर्त तान्त्रिकहरुले आफ्नो सामर्थ देखाएर जवरजस्ति घुसाएका हुन् । त्यसैलाई नै आजसम्मका मानिसले पुर्खाले चलाएको धर्म भनेर बलि प्रथा चलाएका हुन् ।
वास्तवमा वेदभन्दा बाहिर गएर बलि प्रथा पाइन्छ र वेदमा ‘माँ हिंस्यात सर्वभूतानि अहिंसा परमो धर्म’ भनिएको छ । प्राणीहरुको हिंसा गर्नु महापातक हो, हिंसा रहित हुनु नै धर्म हो । बलि भनेको समर्पण भाव हो । मन देबिमा चढाउनु हो, पञ्चबलि दिनु भनेको पाँचवटा मानवभित्र रहेको विकारहरु काम, क्रोध, लोभ, मोह, मात्श्चर्य रुपी पाशोले बाँधिएको अहंकाररुपी काम बासनाले मत्त भएको बोकोलाई मन रुपी हातले समाई विवेकरुपी तरवारले विषयरुपी क्रोधलाई मार्नु भनेको हो ।
हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध–हतियार)हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर बैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन खोज्छ भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार हुनुपर्छ भनेर संदेश दिएको पाइन्छ ।
दशैँ अर्थात बडा दशैँ, विजय दशमी दशहरा, आदि नामले चिनिन् । यो नेपालीहरूको महान चाडको रुपमा मनाइने एक प्रमुख चाड हो । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने यो चाड नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । विजय दशमी नेपालीहरू र विशेषतः नेपाली हिन्दुहरूको सबैभन्दा ठुलोचाड हो ।
नेपाली हिन्दु पात्रोअनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिनसम्म माता भगवतीको विभिन्न रुपहरुलाई पूजापाठ गर्ने, व्रत लिने र नवमीको दिन कन्या पूजा गरी व्रत उधापन गर्ने चलन पनि छ ।
नवरात्रिको पहिलो दिन अर्थात घटस्थापना आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएतापनि पहिलो ९ दिनलाई नवरात्रि र दशौ दिनलाई दशमी अर्थात विजय दशमी भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ ।
प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् । आश्विन शुक्ल प्रतिपदामा जमरा किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरू हुन् ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः।। परेवाको दिन शैलपुत्री देवीको पूजा, अर्चनागरी नैवेद घ्यू, द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद शख्खर, तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध, चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा, पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद केरा, षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद मह, सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु, अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद नरिवेल, नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद लावा चढाउनु पर्दछ र नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठगरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजा आजा र आराधाना गरिन्छ ।
विजयादशमीको दिन भगवतीले अर्थात दूरगा भवानीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा खुशीयाली मनाउँदै नवदुर्गा भवानीको प्रसादको रुपमा रातो टिका र जमरा लगाउने चलन छ । आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।
भनिन्छ, भगवान रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ । यसकारण, दशैँ लाई विजया दशमीको नामले जानिन्छ वा चिनिन्छ । पूजा पाठ, टिका ग्रहण गर्ने आशिर्वाद लिने, दिने क्रम पूर्णिमा सम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने, दक्षिणा दिई र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, लिप्ने पोत्ने सरसफाई गर्ने सफा राख्ने चलन पनि छ ।