Logo
Logo

योचाहिँ युवाहरुका लागि


बिन्दिया प्रधान


  • बिन्दिया प्रधान

काठमाडौं, २ असार । रोगको संक्रमण दर झनझन बढ्दैछ । यस्ता समस्याबीच लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी आंशिक खुकुलो बनाइएको छ । तर, योसँगै डर पनि बढेको छ कि अब संक्रमण झन् बढ्नेछ ।
उता लकडाउनको तीन महिना बित्न नपाउँदै सरकारी ढुकुटी रित्तिन थालेका समाचार सार्बजनिक भएको छ । हामी कति आत्मनिर्भरताको बाटोमा हिँडिरहेका रहेछौँ त । यसले एउटा अझ अभाव ग्रस्त भयावह भबिष्यको संकेत गरिरहेको छ ।
यता रु. दश अर्ब खर्चको हिसाब मागिने क्रम जारी छ । दिनेको ढुुकुटी रित्तो अनि माग्नेको पोल्टो पनि रित्तै । बीचैमा अनेकौँ छिद्र र प्वालहरुमा चुहिँदा–चुहिँदै आवश्यता परेकोहरुसम्म राहत र सुविधा थोरैमात्र पुगेको हुनाले यी आक्रोश बढेको भनाइ छ । युवाहरु जुटेका छन् र आक्रोशहरु सडकभरी नारा भएर पोखिएका छन् ।
अहिलेको यो कोरोनासम्बन्धि खबर प्रशस्त मात्रामा बाहिर आइरहेकोले सबैजनाको चासो बढेको पनि छ । देशमा कोरोनाको चरम संकट छ । त्यसैले स्वीकार गरौँ कोरोना परिक्षण किट र अन्य पीपिई पोशाक आदि स्वास्थ्य सामग्रीहरु सबै बिदेशबाट आयात गर्नुपर्ने, जताततै ती महँगो भई अन्य देशहरुले नै भनेजति रकम दिएरै सामान उठाइरहेको, संक्रमित बढ्दै गएबाट हजारौँका संख्यामा क्वारेन्टाइनहरु थप्दै जानु पर्ने, राहत, यातायात ब्यवस्था, कर्मचारी र स्वास्थ्यकर्मीहरुको बढाइएको तलब, भत्ता सुबिधा बिमा आदिजस्ता खर्चहरुमा त्यो १० अर्बको के कुरा अब ६० अर्बले पनि पुग्छ पुग्दैन भन्ने भनाइहरु आएका छन ।
तर, यसो भनिरहँदा, यदि युवाहरुले चाहने हो भने देशको यस्तो बिषम परिस्थितिलाई अझ अधोगतिमा जान नदिन धेरै बिषयहरुमा चासो राखेर देशप्रति उत्तरदायी बन्ने काम गर्न सक्छन् । यो आन्दोलनमा पढेलेखेका युवाहरु नै बढी देखिएकोले र फेसबुक मार्फत नै जेडिएका हुनाले सबैसँग अनलाइन सुबिधा छ नै । अब युवाहरुले अध्ययन र खोजी गर्नुपर्ने कुरा भनेको

– यो पोष्ट कोभिडको अवस्था कस्तो हुन्छ ? जीवनशैली र कार्यशैलीमा ब्यापक परिवर्तन गर्नुपर्ने बारेमा प्रशस्त ‘न्यू नर्मल’जस्ता बिषयमा विचार–बिमर्श र विश्लेषणहरु आइरहेछन् । सबै युवाहरुले अध्धयन गरेर पहिला आफैँले मनन गरी देशभरिका सर्बसाधारणलाई बुझाउने प्रयास गर्न सक्छन् ।
– अहिले कृषिमा होस् या साना मझौला र ठूला उद्योगमा उत्पादनलाई ब्यापक मात्रामा बढाउनुपर्छ भन्ने कुरा युवाहरुले नै बुझ्नुपर्छ । परिश्रम गर्ने हातहरुको देशमा एकदमै अभाव छ । अब सडकको जस्तै जोस उत्पादनमा देखाउन पर्छ । किनकि हाम्रा युवाहरुमा अब देशप्रति र देशको समृद्धि प्रतिको जिम्मेवारी बोधको उचाई देखिँदै आएको छ । देशको खर्च आम्दानीको हिसाब खोज्नु भनेकै समृद्धिको पाइलामा एक इन्च पनि यताउता दरुपयोग नहोस भन्नेनै हो । यो एकदम सकारात्मक कुरा हो ।
– सरकारले पनि यो सडक आन्दोलनलाई केवल आफ्नो बिरोध मात्र नठानी यी जुरमुराएका चेतनशील युवाको जोशलाई समेट्दै देश बिकासमा आफ्नो सहयात्री बनाउने मौका चुकाउनु हुँदैन ।
युवाहरुले अहिले मुख्य बुझ्नुपर्ने कुरो भनेको अब ब्यापक परिवर्तन नै समयको माग हो । अब आमा बाबुलाई ऋणको भारी बोकाउँदै बिदेशमा उच्च शिक्षा वा कामको खोजीमा भौतारिने मानसिकता त्याग्नु नै पर्छ । बिदेशको हालत र त्यहाँ नेपालीहरुले पाएको दुख खपनि अहिले सबै छर्लङ्ग भैसकेको छ । त्यसैले अब आफ्नै देशमा टिकेर बस्नै पर्छ र जे गर्ने हो देशकै लागि गर्ने हो भनेर युवाहरु कस्सीनै पर्छ । यसको लागि अब राज्यले ब्यवस्था गरेका सहुलियत सुबिधाहरुमा जनताको कति पहँुच छ त ? अथवा साँच्चै कै लक्षित वर्गले त्यस्ता सहुलियत पाएका छन कि छैनन् भनेर युवाहरुले नै सोधिखोजी गर्न सक्नुपर्छ ।
अहिले बैंक बित्तीय संस्थाहरुबाट उत्पादनका क्षेत्रमा धेरै प्रकारका सहुलियत कर्जा पाइने ब्यवस्था गरिएको छ । सहुलियतपूर्ण कर्जा भन्नाले बैंक बित्तीय संस्थाबाट कर्जामा तोकिएको ब्याजमा सरकारले केहि प्रतिशतको अनुदान दिने ब्यवस्था हो । जस्तै ठूलो स्केलमा कृषि तथा पशुपंछी ब्यवसाय गर्न चाहनेलाई त ५ करोड देखि १० करोड सम्म कर्जा पाउने तथा ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान र त्यसमाथि १० करोडसम्म २ प्रतिशत अनुदान पाइने ब्यवस्था छ । रु.१५ लाख सम्म महिलाहरुका लागि उद्यमशील कर्जा, रु.१० लाख सम्म बिदेशबाट फर्कने युवाहरुलाई परियोजना कर्जा, रु.१० लाखकै दलित ब्यवसाय कर्जा, रु. ७ लाख सम्म शिक्षित युवा स्वरोजगार कर्जा र उच्च प्राबिधिक ब्यवसायिक कर्जा रु ५ लाख अनि भूकम्पपीडितलाई आवास कर्जा रु.३ लाख सम्मको कर्जामा यी सरकारी ब्याज अनुदान सहुलियत पाइने ब्यवस्था छ ।
बिस्तृत जानकारीका लागि नेपाल राष्ट्र बैंकको वेब साइट एनआरबि. ओआरजी.एनपी मा गई ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यबिधि–२०७५’ हेरे प्रष्ट हुन्छ । इन्टरनेट सुबिधा नभएका तमाम गरिखान चाहने पहुँचविहीन युवाहरुलाई यो कार्यक्रममा जोड्न यो फेसबुके युवा सञ्जालले मद्दत गर्छ नै । आशा गरौँ ।
यो बाहेक, प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, असाध्यै प्रभावकारी लघुबित्त कार्यक्रम बारेमा सोधिखोजी र अध्ययन गर्नु नै पर्छ युवाहरुले । अहिले फेरि कोरोना संकटकै कारण ब्यवसाय धरासायी भएकाहरुलाई उत्थान गर्न सरकारले राष्ट्र बैंकमा पुनरकर्जा कोषको ब्यवस्था गरेको छ । यी सम्बन्धमा आफूले पहिला बुझेर अहिले बिदेशबाट फर्किएका र रोजगारी गुमाएका लाखौँ ती बेरोजगारहरुलाई यहि फेसबुक सञ्जालमा जोडेर एकताबद्ध गर्दै ती धेरै कार्यक्रमका बारेमा बित्तीय साक्षरता प्रदान गरी उत्पादन र समृद्धिको एउटा सशक्त सञ्जाल बनाए देखि युवाहरुको अहिलेको जोशले धेरै सार्थकता पाउने थियो । यो एकदमै आवश्यक छ अहिले पीडित बर्गको आर्थिक उत्थानको लागि ।
नकारात्मक पक्षहरुले अर्कोतिर हामीलाई झस्काउँछ पनि । खासगरी आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिने उदेश्यले त्यस्ता सहुलियत कर्जाको ब्यवस्था गरिएको हो । तर जग्गा जमीन प्रशस्त हुनेले राजनैतिक भनसुन र पहँुचको भरमा यस्तो सहुलियतपूर्ण कर्जाको ब्यापक दूरुपयोग गरेको र यथार्थमा उत्पादन चाँहि नभएको चर्चा छ । उपलब्ध तथ्याङ्क हेर्दा बैंक तथा बित्तिय संस्थाबाट प्रबाह भएको यस्तो सहुलियत कर्जाको ९५ प्रतिशत कृषि तथा पशुपञ्छी क्षेत्रमा ठूलो आकारको कर्जामा गएको र बाकि ५ प्रतिशत मात्र अन्य उद्यमी महिला, बिदेशबाट फर्केका युवा, दलित, स्वरोजगार जस्ता साना कर्जाहरुमा गएको देखिन्छ । उदेश्य अनुसार कृषि र पशुपञ्छी पालनमा उत्पादन बढ्यो त अथबा के त्यो बढेको उत्पादनले आयात प्रतिस्थापन भयो त ? भन्दा कृषि उत्पादन झन निरासाजनक र आयातको स्वरुप यो लकडाउन अगाडि सम्म उहि बढ्दो स्तरमानै देखिन्छ ।
अहिले संकटको बेला रु.१० अर्ब खर्चको हिसाब किताब खोज्ने फेसबुके जमातले अब सधै भइरहेका अन्य दूरुपयोग प्रति पनि सचेत हुनुपर्छ । राम्रा उदेश्यका लागि ल्याइएका अर्बौ अर्बका कार्यक्रम उदेश्य अनुसार सदुपयोग भएको छ छैन वा लक्षित बर्गले यथार्थमा त्यो सुबिधा पाएका छन कि छैनन भनेर हेर्नु पर्ने पनि अब यी युवाहरुको जिम्मेवारी हुन सक्छ । जबसम्म स्वच्छ प्रणाली अन्तर्गत काम हुदैन र त्यसको असरले लक्षित बर्ग पछाडि छुटिनैरहेका हुन्छन त्यो बेला यस्ता सचेत युवाहरु जुर्मुराउनु नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्