काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यान देश र जनताप्रति नभएको बताएका छन् । शनिबार पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

‘सरकार देश र नागरिकप्रति गम्भीर हुनुपर्ने हो । यो सरकारले अध्यादेश ल्याएको छ अचानक । यसअघि बनेको सरकार रातारात बदलियो । त्यो सरकार बदल्नुपर्ने कारण के थियो ?’ अध्यक्ष नेपालले प्रश्न गर्दै भने, ‘दुई कम्युनिष्ट पार्टी मिलेर सरकार चलाइरहेको बेलामा हटाउनुपर्ने कारण के थियो ? प्रधानमन्त्री चाहिएको थियो भने त्यही पनि सम्भव थियो । प्रचण्डजीले छाड्दिनुहुन्थ्यो । उहाँले नमानेर हामीलाई भनेको भए एकपटक प्रधानमन्त्रीको संख्या थपिदिनुस् भन्थ्यौं होला ।’
अध्यक्ष नेपालले ओली प्रधानमन्त्री पद लागि जे पनि गर्न तयार भएको उनले टिप्पणी गरे । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए ।
उनले ओलीले प्रधानमन्त्री पदको लागि दुनियाँलाई ठग्न संविधान संशोधनको कुरा गरेको जिकिर गरे । ‘अब ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचमा को हुने प्रधानमन्त्री ? त्यसको जवाफ कसलाई थाहा छ ?’ अध्यक्ष नेपालले भने, ‘अहिलेका प्रधानमन्त्री ओली मुलुक सञ्चालनप्रति गम्भिर हुनुहुन्न । उहाँ देश चलाउनको लागि होइन, सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित भएका छन् । देशलाई संकट बनाउनेतिर गइरहेका छन् ।’














