Logo
Logo
कविता/साहित्य

सपनाको घर


5.8k
Shares

कुनै समय रंगिन सपनाको ठूलो महलमा
एकवित्ते जीवनलाई संरक्षण गर्दै
सपनाकै उर्जाले चलेको मान्छे म
हृदयभरि मौलाएका हरिया
सपनालाई जवर्जजस्ती थाती राखेर
अरूकै खुशीमा दौडदा गलेको मान्छे म ।

फुर्सदमा कागजको खोस्टामा कोरेझैँ
रहरको मसीले मनको मझेरीमा
रंगी बिरंगी सपना कोरिरहँदा
खुशीले उन्माद चढेको मान्छे म ।
देख्दा उस्तै तर भोगाई फरक
थरिथरिका जीवनलाई
अक्षर शब्द र वाक्यको संयोजनबाट
कथा बनाउन अनि
सहरका ठूला महलहरू छाडेर
सिर्जनाको रंगिन छातामुनि रमाउँदै
आफ्नै युगको अनौठो अनुभूति समेट्ने
अपत्यारिलो रागले जलेको मान्छे म ।

गाउँले परिवेशमा भुलिरहेका
गाउँकै माटोमा फुलिरहेका
रने, सेते, बिर्ख र सानेको मात्र हैन
चम्पा, चमेली र उजेलीको कथा बनाउन
उनकै रगत पसिना फुलेको
माटोको मौलिक पहिचान जोगाउन
निर्मल मुना र ममताको अस्तित्वलाई
सुनौला अक्षरहरूमा सजाउन
कल्पनाको महासागरमा डुबुल्की मारिरहँदा
कठोर समयको प्रहारसँग हारेको मान्छे म ।

अहिलेसम्म अनभिज्ञ छु
मेरा सपना मनासिब हुन् या काल्पनिक
अझ भनौं रहर हुन् या बाध्यता
खै, कस्तो सपनाको जग लगाएछु ?
आफैंलाई उपहास गर्ने
खै कस्तो महल बनाएछु ?
विना गन्तव्यको यात्राले
आफैंलाई गिज्याइहेछ
थरिथरिका समस्याले
जराहरू फिँजाइरहेछ
थुप्रै समस्याको लहराले बेरिँदा पनि
आँखा तानी–तानी
तिनै सपना नियाल्दै छु
सपना बुन्ने तान भने
थोत्रो मेशिनझैँ जीर्ण भएर बसेको छ
मनको मध्य मझेरीमा
अनि क्रमैसँग झर्दै गएको छ ।
त्यही महलको भित्ताबाट
ओस लागेको सिमेन्टझैँ
धन्य छ मेरा सपना !

लाग्छ, अब कहिल्यै ताजा हुँदैनन्
अनि हुँदैनन् हराभरा पनि
मुना पलाउनु त परै जाओस्
जरैबाट सुक्न थालेका छन्
कठै मेरा सपना !
खंग्रङ्ग सुकेर भए पनि
आफ्नै आँखा अगाडि
नव आगन्तुकझैँ ठिङ उभिएर
गिज्याइरहन्छन् घरिघरि
सियोलेझैँ चस्स मुटु घोचिरहन्छन्
तड्पाउँदै मर्नेगरी ।

मन भारी भएको बेला पनि
मनको भित्री कुुुनाबाट मडारिँदै
चित्कार गरिरहन्छन्
किन थोत्रियो मेशिन ?
अनि किन बेवारिसे भयो महल ?
ए मनु ! केही त बोल न !
किन चुपचाप छौं ?
अनुत्तरित यस्तै प्रश्नको चौघेराभित्र
विवस छु म आजकल चुपचाप सहन
डढेका ठुटाझैँ तिनै सपनामा रहन ।

–सुशीला शर्मा

प्रतिक्रिया दिनुहोस्