
काठमाडौं । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो सङ्गठन प्रेस चौतारी नेपालको भावी महासचिवमा पत्रकार सुरोजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
हालको कमिटीमा उपमहासचिव रहेका पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । २०५९ सालमा प्रेस चौतारी काठमाडौंको संस्थापक जिल्ला सदस्य हुँदै सङ्गठनको विभिन्न तह र जिम्मेवारीहरूमा रहेर कुशलतापूर्वक काम गर्दै आएका पाण्डेले आफूलाई बलियो र स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।
‘प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरुको भरलाग्दो अब्बल र गतिशील सङ्गठनका रुपमा अगाडि बढाउने दृढ सङ्कल्प र प्रतिवद्धतासहित सङ्गठनको कार्यकारी जिम्मेवारी (महासचिव) को स्वाभाविक दावेदारका रुपमा अगाडि बढ्ने सोच बनाएको छु,’ आफ्नो उम्मेदावरी घोषणा गर्दै उनले भनेका छन् ।
प्रेस चौतारी नेपालमा करिब २२ वर्षको ऊर्जाशील समय बिताएका पाण्डे काठमाडौं जिल्लाको संस्थापक सदस्य हुन् । त्यसपछि उनले तत्कालीन उपत्यका अञ्चल (काठमाडौं, भक्तपुर, ललितपुर) को सचिव हुँदै काठमाडौं जिल्ला समितिको सल्लाहकार भएर काम गरेका छन् ।














