
काठमाडौं । प्रहरीले शुक्रबार राजावादीको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका ९ जनालाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराउँदै छ ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जना पक्राउ परेका थिए।
उनीहरु सबैलाई आज ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थपका लागि अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आन्दोलन भड्काउन भूमिका खेल्ने ‘हार्ड कोर’को रूपमा परिभाषित गर्दै प्रहरीले उनीहरूविरुद्ध मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो ।
उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ ।
शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको तयारी छ ।
तिनकुनेमा भएको राजावादीको प्रदर्शनलेउग्र रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी घटना समेत भएका थिए ।














