
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहाल (राजन) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत दाहालले संविधानभन्दा माथि नहुने भन्दै तत्काल राप्रपालाई प्रतिबन्ध लगाउन र कानुनको दायरामा ल्याउन माग गरेका हुन् । धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिने भएकाले राप्रपाले उनीहरूलाई पार्टीबाट निस्कासित गर्नुपर्ने समेत उनले बताएका छन् ।
‘राप्रपाले पनि कि धवल धम्शेर जबरा र ज्ञानबहादुर शाही जो यो अराजक लुटेरा जत्थाको नेतृत्व गरेर हिँडेको देख्न सकिन्छ । उनीहरूलाई पार्टीबाट निस्कासित गरोस् । हैन भने राप्रपा पनि संस्थागत हिसाबले हत्या, हिंसा र लुटपाटमा लागेको पुष्टि हुन आउँछ,’ उनले भनेका छन्, ‘तत्काल राप्रपालाई पनि प्रतिबन्ध लगाइयोस् र कानुनको दायरामा दायरामा ल्याइयोस् । संविधानभन्दा माथि कोही पनि छैन । हेक्का रहोस् ।’
यस्तै सांसद दाहालले तिनकुने क्षेत्रको क्रुर, हत्या, हिंसा, लुटपाट र आततायी गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको दाबी गर्दै ज्ञानेन्द्रलाई पनि तत्काल गिरफ्तार गर्न समेत माग गरेका छन् ।














