
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बङ्गलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत राजावादीहरु दुर्गा प्रसाईँ जस्ता हुल्लडबाजलाई परिचालन गरेर आपराधिक क्रियाकलाप गराई दोष जति सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्, ‘बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न जनकमाणडर तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेका छन् राजावादीहरू, तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ ।’
दुर्गा प्रसाईँलाई दोष थोपरेर उम्कन खोजेका राप्रपाका संस्थापक पूर्वपञ्चहरुले अहिले सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण निर्मल निवासको थ्रेट भएको पोखरेलको विश्लेषण छ ।
‘राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले, घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो तर निर्मल निवासको थ्रेटका सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ’, उनले लेखेका छन् ।
निर्मल निवासको अगाडि पूर्वपञ्चहरु निरीह भएको पोखरेलको धारणा छ । उनले भनेका छन्, ‘आँखादेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पञ्चहरूको नियति ।’














