काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त भएका कुलमान घिसिङले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि रिटको पेशी प्रधानन्यायाधीश न्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा तोकिएको छ । उक्त रिटको सुनुवाइ आज सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ।

यसअघि शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सो रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश अव्दुलअजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो । अदालतले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको हो ।
गत सोमबार मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च पुगेका थिए । घिसिङले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।














