
काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्वहाली गर्नुपर्नेमागसहित काठमाडौंमा प्रदर्शन भएको छ ।
कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्वहाली गर्नुपर्ने माग सहित कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समितिले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्वहाली गर’ लगाएका प्लेकार्ड सहित नारावाजी गरेका थिए । कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।
गत शुक्रबार मन्त्रिपरिषद बैठकले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियाे । त्यसपछि सरकारको उक्त निर्णयविरुद्ध सर्वत्र विरोध भइरहेको छ ।














