काठमाडौं । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश दिने वा नदिने भन्ने तय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले चैत २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी हुन माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले हालसम्म भए गरेका कामकारबाहीहरू यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि उपस्थित हुन मिति २०८१ चैत २६ गतेको पेशी तोकी सोको जानकारी विपक्षीहरू समेतलाई दिनु’ आदेशमा भनिएको छ ।
यससँगै सर्वोच्चले पाथीभरा केबलकार निर्माणका विषयमा कारण देखाउ आदेश दिएको छ । विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ ।
स्थानीय यामबहादुर लिम्बूसहित आठजनाले पाथीभरा क्षेत्रमा केबलकार बनाउने, बनाउन दिने लगायत सम्पर्ण कार्य तत्काल रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । यसबाहेक पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर सर्वोच्चमा अन्य दुई मुद्दा विचाराधीन छन् ।














