
काठमाडौं । तीनकुनेको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले सरकारले आफूलाई मार्ने योजना बनाएको दाबी गरेका छन् ।
चैत १५ गते शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको घटनायता फरार रहेका उनले एक भिडियो सन्देश जारी गर्दै यस्तो दाबी गरेका हुन् ।
एउटा मन्दिरजस्तो ठाउँबाट खिचिएको भिडिओ फेसबुकमा सार्वजनिक गर्दै उनल आफूले शान्तिपूर्ण कार्यक्रम गर्न लागेको भए पनि प्रहरी प्रशासनका तर्फबाट भड्काइएको उनले आरोप लगाएका छन् ।
त्यस्तै उनले आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको पनि बताएका छन् । ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन । म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर बसेको हुँ । म भाग्नलाई जन्मेको होइन ।’
शुक्रबार तीनकुनमा गरिएको प्रदर्शनका क्रममा ड्युटीमा रहेका प्रहरीमाथि नै जबरजस्ती गाडी कुदाउन खोजेका थिए । उनले आफैँले हाँकेको गाडीको झ्यालबाट समर्थकलाई प्रहरीको घेरा तोड्न पनि उक्साएका थिए ।
प्रहरीले रोक्न खोज्दा पनि नरोकिएका उनले सुरक्षाकर्मीको चेतावनी अटेरी गरी गाडी हुइँकाउँदै समर्थकलाई उत्तेजित बनाएका थिए ।
त्यसपछि भड्किएको दंगामा २ जनाको ज्यान गएको छ । ठाउँ ठाउँमा आगो लगाइएको छ । सरकारी र निजी सम्पत्ति तोडफोड र लुटपाट गरिएको छ ।
प्रदर्शनकारी भड्काएर प्रसाईं भने लुसुक्क निस्किएर गाडी चढी भागेका थिए । त्यसयता प्रहरीले खोजी गरे पनि उनलाई भेटाउन सकेको छैन ।














