काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन्।
प्रधानमन्त्री ओली हिजो दिवङ्गत भएका नेकपा एससँग सम्बन्धित वरिष्ठ पत्रकार र लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सो कार्यालयमा पुगेका हुन्।

त्यहाँ ओलीसँग नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरू उपस्थित थिए। प्रधानमन्त्री ओलीले उनीहरूसँग केही समय भलाकुसारी गरेका थिए।
साथै, कार्यालयभित्र प्रवेश गरी गत चैत १५ गतेको आगलागीबाट भएको क्षतिको पनि अवलोकन गरेका थिए । नेकपा एमालेलाई विभाजित गर्दै २०७८ सालको भदौ महिनामा नेकपा एस दर्ता भएको थियो।











