
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् ।मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसंग भेटेर लामिछानेले आफूमाथि लगाइएको निलम्बनआजै फुकुवा गर्न माग गरेका हुन् ।
उनले राजनीतिक प्रतिशोधका आधारमा सांसद पद निलम्वन गर्न नियोजित रुपमा आफुमाथि सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा लगाएको भन्दै निलम्बन फुकुवा गर्न आग्रह गरिएको बताए ।
लामिछानेले सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा अदालतमा टेकाएकै भरमा सांसद पद निलम्वन हुने कुराले सदनलाई नै असर गर्ने देखिएको जिकिर गरे । मुद्दा दर्ता गर्ने र सांसद पद निलम्वन हुने बिषय राजनीतिक हतियारका रुपमा प्रयोग हुनसक्ने देखिएकाले आफु सचेत रहेको सभामुखले बताएको लामिछानले बताए ।
उनले पर्सामा आफुमाथि मुद्दा नियोजित रुपमा अड्काएर राखेको बताए । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि पुसमा लामिछानेको सांसद पद निलम्वनमा परेको थियो ।














