काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका कीर्तिपुर निवासी सविन महर्जनको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा सम्पन्न भएको छ।

त्रिवि शिक्षण अस्पतालमा आजै उनको शवको पोस्टमार्टम गरिएको थियो। त्यसपछि परिवारजनले पशुपतिमा अन्तिम संस्कार गरेका हुन्। अन्तिम संस्कारका क्रममा उनका पिता श्रीकृष्ण महर्जनले दागबत्ती दिए।
पोस्टमार्टमका क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको छ। गोली उनको दायाँ हातको कुहिनो नजिक प्रहार भई कोख हुँदै ढाडबाट निस्किएको पाइएको छ। १५ चैतमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा गोली लाग्दा महर्जनको ज्यान गएको थियो।














