Logo
Logo

स्वास्थ्य परीक्षण नगरी २ सयमा निरोगिताको प्रमाणपत्र


756
Shares

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा स्वास्थ्य परीक्षणबिना नै निरोगिताको प्रमाणपत्र बिक्री हुने गम्भीर लापरबाहीको खुलासा भएको छ। भीमदत्त नगरपालिका–४ मा रहेको विष्ट हेल्थ केयर क्लिनिकले मात्र २ सय रुपैयाँमा स्वास्थ्य जाँच नगरी प्रमाणपत्र वितरण गर्दै आएको छ। 

यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरमा पेस हुने अधिकांश प्रमाणपत्र यही क्लिनिकबाट जारी भएका छन्। क्लिनिक सञ्चालक डा. चन्दन सिंह विष्टले आफ्नो हस्ताक्षर र छाप प्रयोग गरी विगत २ वर्षदेखि यो धन्दा चलाउँदै आएका छन्। 

यातायात कार्यालय परिसरका पसलहरूले समेत यो अवैध धन्दामा संलग्न रहेका छन् । उनीहरूले डा. विष्टलाई आधा रकम बुझाएर प्रमाणपत्र बिक्री गर्दै आएका छन्। कार्यालयका निमित्त प्रमुख रामदत्त पन्तले यो समस्या थाहा भए पनि कारबाही गर्नुको साटो महाकाली प्रादेशिक अस्पतालसँग सहयोग मागेको बताएका छन्। तर, २ वर्षदेखि यो गैर कानुनी कार्य चल्दा पनि कुनै ठोस कदम चालिएको छैन।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले पनि यो विषयमा आँखा चिम्लिएको छ। सवारी चालक अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षण अनिवार्य छ, जसमा आँखा, कान, मानसिक सन्तुलनलगायत जाँच हुनुपर्छ। तर, यहाँ त पैसाको खेलमा यी सबै मापदण्डलाई बेवास्ता गरिएको छ।

यो प्रकरणले स्वास्थ्य र सडक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रशासन र यातायात कार्यालयको मौनताले नागरिकको जीवनमाथि खेलबाड भइरहेको स्पष्ट हुन्छ। तत्काल अनुसन्धान र दोषीमाथि कडा कारबाही नभए यो अवैध धन्दा अझै फैलने खतरा छ।

प्रतिक्रिया दिनुहोस्