काठमाडौं । सरकारले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ ।
मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन अपिल गरेको हो ।

मन्त्री गुरुङले भने, ‘तीनकुने घटनाको सत्यतथ्य छानिबिन गरी दोषीउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ । साथै यस किसिमको अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ ।’
घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको पनि उनले बताए । दुर्गा प्रसाईंको कमाण्डिङमा चैत १५ गते तीनकुने क्षेत्रमा राजसंस्था पुनस्र्थापनाका लागि प्रदर्शन भएको थियो । सो प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको थियो ।














