
काठमाडौं । राजावादीको आन्दोलनका क्रममा तिनकुनेमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शवको पोस्टमार्टम आज हुने भएको छ ।
चिकित्सकहरूले आज एक्स रे पोष्टमार्टम गर्ने तयारी गरेका हुन् । रजकको शरीरमा गोली लागेको हल्लापछि चिकित्सकहरूले एक्स–रे गर्नुपर्ने भन्दै पोष्टमार्टम गर्न मानेका थिएनन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विभागका चिकित्सकले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि मङ्गलबार हुने भनिएको पोस्टमार्टम आजका लागि सरेको थियो ।
रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले मङ्गलबार पत्र पठाएको थियो । तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी हल्ला चलेकाले एक्स रे गरेर मात्रै पोष्टमार्टम गर्ने भएका हुन् ।
यसअघि प्रहरीले भने गोली लागेको भनी चलाइएको हल्लाको खण्डन गरेको थियो । ३३ वर्षीय रजकको शरीर ७० प्रतिशत भाग जलेको अवस्थानमा तीन कुनेको एउटा घरको दुई तलामाथि भेटिएको थियो ।
यही चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै विभिन्न स्थानमा आगजनी तथा तोडफोड भएका थिए ।














