काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन नमिल्ने बताएका छन् । बुधबार रेडियो नेपालको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने उनको भनाइ छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष भएको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘स्वतन्त्रताका नाममा हुने हिंसा, तोडफोड, आगजनी र लुटपाट सर्वदा निषेधित छ ।’
शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले दुईजनाको निधनप्रति राष्ट्रपतिले दुःख व्यक्त गरे ।
राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको बताउँदै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले पु¥याएको योगदानको चर्चा गरे । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको उनको भनाइ छ ।














