Logo
Logo

तीनकुने घटना : दुर्गा प्रसाईं भागेकोबारे प्रहरीको आलटाले जवाफ


4.5k
Shares

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीलाई उत्तेजित बनाएको आरोप लागेका दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी असफल भएको छ। प्रहरीले ‘ठुलो भिड’ लाई कारण देखाउँदै कार्यक्रम स्थलबाट प्रसाईंलाई नियन्त्रणमा लिन नसकेको जनाएको छ, तर यो बहानाले प्रहरीको कार्यक्षमता र रणनीतिमाथि गम्भीर प्रश्न उठाएको छ।

तीनकुने घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेश आचार्यले भने, “ठुलो भिडका कारण दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव भएन।” उनले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै पक्राउ गर्न सफल हुने दाबी गरे पनि प्रहरीको यो जवाफ आलटाले मात्रै रहेको देखिन्छ । 

घटनाको दिन राजावादीहरूको आन्दोलनमा प्रसाईंले आफैँले चलाएको गाडी मीन भवन नजिक प्रहरीमाथि चढाउने प्रयास गरेको प्रहरीको आरोप छ। यस्तो गम्भीर प्रकृतिको घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिन नसक्नुले प्रहरीको तयारी र प्रभावकारितामाथि प्रश्न चिह्न खडा भएको छ। ठुलो भिडको उपस्थिति कुनै नौलो परिस्थिति होइन, र यस्ता अवस्थामा संवेदनशील व्यक्तिलाई पक्राउ गर्न प्रहरीसँग विशेष रणनीति र जनशक्ति हुनुपर्ने हो। तर, प्रसाईंको मामिलामा प्रहरीको कमजोर प्रदर्शनले सुरक्षा व्यवस्थापनको विश्वसनीयतामाथि नै शंका उत्पन्न भएको छ।

प्रसाईंको खोजी जारी रहेको प्रहरीको भनाइलाई लिएर पनि आलोचना भइरहेको छ। घटनाको पाँच दिन बितिसक्दा पनि मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ गर्न नसक्नुले प्रहरीको गुप्तचर संयन्त्र र सूचना सङ्कलनको क्षमतामाथि समेत प्रश्न उठेको छ। कतिपयले यो घटनालाई प्रहरीको नियतसँग जोडेर हेरेका छन्, भने कतिपयले प्रसाईंको राजनीतिक पहुँच र प्रभावका कारण प्रहरीले जानाजान ढिलाइ गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

तीनकुनेको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको र प्रहरीमाथि नै आक्रमणको प्रयास भएको यो घटनाले सुरक्षा निकायको जवाफदेहिता र कार्यशैलीमाथि गहिरो बहस छेडेको छ। प्रसाईंलाई पक्राउ गर्न प्रहरीले कस्तो रणनीति अपनाउँछ र कति चाँडो सफलता हासिल गर्छ, त्यसले आगामी दिनमा प्रहरीको विश्वसनीयता निर्धारण गर्नेछ। तर, अहिलेलाई ‘ठुलो भिड’ को बहानाले प्रहरीको कमजोरीलाई ढाक्न भने सक्दैन् ।

प्रतिक्रिया दिनुहोस्