Logo
Logo

अछामको बयलपाटा अस्पताल आर्थिक सङ्कटमा


315
Shares

काठमाडौं । अछामस्थित बयलपाटा अस्पताल गम्भीर आर्थिक सङ्कटमा परेको छ । जसले गर्दा यहाँको स्वास्थ्य सेवा जुनसुकै बेला ठप्प हुने जोखिम बढेको छ । अस्पतालको जनप्रशासन विभागले जारी गरेको सूचनाअनुसार आर्थिक अभावका कारण चिकित्सक र स्वास्थ्यकर्मीको रिक्त पदपूर्ति गर्न नसकिएको, औषधि तथा स्वास्थ्य सामग्रीको खरिद र आपूर्तिमा कठिनाइ भएको, र बिरामीको समयमै उपचारमा समस्या देखिएको छ ।

अस्पतालले जनाएअनुसार आर्थिक सङ्कटले जनशक्ति व्यवस्थापनदेखि आधारभूत स्वास्थ्य सामग्रीको आपूर्तिसम्म प्रभावित भएको छ । रिक्त चिकित्सक र स्वास्थ्यकर्मीको पदपूर्ति हुन नसक्दा बिरामीले तत्काल उपचार पाउन सकेका छैनन् ।

सूचनामा भनिएको छ, “आवश्यक जनशक्तिको अभावले बिरामीले आजको आज उपचार नपाएर भोलि फेरि आउनुपर्ने बाध्यता सिर्जना हुन सक्छ ।” यस्तै, औषधि, ल्याब सामग्री र अन्य उपकरणको अभावले स्वास्थ्य चेकजाँच र उपचार प्रक्रिया ढिलो भएको छ । विशेषज्ञ सेवामा जोड दिएको यो अस्पतालले प्रसूति सेवासमेत प्रभावित हुने जोखिम आएको जनाएको छ । अभावै अभाव देखिएपछि यहाँ कार्यरत एमडिजिपी चिकित्सक अन्यत्र जाने तयारीमा रहेका छन् । 

सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकाको पोसिबल नामक गैरसरकारी संस्थाको सहयोगमा स्थापित बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णालीका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । ५० शय्याको यो अस्पतालले २०७८\७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको थियो । हाल यहाँ सात चिकित्सक र २० नर्स कार्यरत रहेका छन् ।

अस्पताल गैरसरकारी क्षेत्रबाट सञ्चालित भएकाले प्रदेश र सङ्घीय सरकारले आर्थिक सहयोग गर्न नसकेको वा नचाहेको देखिन्छ । सुरुका वर्षमा प्रदेश सरकारले केही सहयोग गरेको भए पनि पछि कानुनी अड्चन देखाउँदै सहयोगबाट पछि हटेको थियो । यो अवस्थाले गैरसरकारी स्वास्थ्य संस्थाहरूप्रति सरकारको दृष्टिकोणमाथि प्रश्न उठाएको छ । जब कि यस्ता अस्पतालले दुर्गम क्षेत्रमा सरकारी स्वास्थ्य संरचनाको कमजोरीलाई पूर्ति गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्