
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाईकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको (डोमेष्टिक) आन्तरिकतर्फ सरसफाई नगरिदा फोहोरको थुप्रो जम्मा भएको छ ।
तलब माग गर्दै विगत १० दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाईकर्मी कर्मचारीहरुले आन्तरिकतर्फको कुनै पनि फोहोर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
सरसफाईकर्मी कर्मचारीले फोहोर नउठाउँदा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्धित फैलिएको विमानस्थलमा भेटिएका यात्रु हरिष क्षेत्रीले गुनासो गरे ।
उनले भने, ‘अन्तराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ जता ततै फोहरको थुप्रो छ । कर्मचारी कालो व्यानर टागेर आन्दोलनमा छन् । फोहोरको गन्धले विमास्थल वरपर बसी सक्नु छैन । काम गरेको पैसा त दिनु पर्छ नी ?’
उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले सरसफाईकर्मी कर्मचारीहरुको तलबका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणस्थित सञ्चालक समितिमा पत्राचार भएपनि समितिले निकासा नदिएका कारण तलब दिन नसकिएको बताए ।
‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । समितिले तलब निकासाका लागि निर्णय सहितको पत्र नदिएका कारण कार्यालयले तलब दिन नसकेको हो । सरसफाईकर्मी कर्मचारीले विमानस्थलको फोहर उठाउने कार्य पुरै ठप्प पारेका छन्,’ उनले भने ।














