काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले मोर्चामा आबद्ध दलहरूका लागि १५बुँदे आचारसंहिता तयार पारेको छ । बिहीबार आयोजित मोर्चा घोषणा कार्यक्रममा आचारसंहिता सार्वजनिक गरिएको हो । मधेशकेन्द्रित विभिन्न सात दलले बिहीबार सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका हुन् ।

आचारसंहितामा सार्वजनिक रूपमा एक अर्काको आलोचना गर्न नपाइने लगायतका विषयहरू समेटिएका छन् । ‘मोर्चाका आबद्ध दलहरूले सार्वजनिक रूपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछन् । तर, वैचारिक एवं सैद्धान्तिक सवालमा आआफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन,’ आचारसंहिताको ६ नम्बर बुँदामा भनिएको छ ।
यसै गरी, आचारसंहितामा मोर्चामा आबद्ध दलहरू मोर्चाको उद्देश्य विपरीत नहुने गरी अन्य मोर्चामा आबद्ध हुन वा अन्य दलहरूसँग एकीकरण गर्न बाधा हुने नहुने भनिएको छ ।















