काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले देशमा उत्पन्न स्थितिको आधारमा सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले दुई ठुला दलले देशमा राजनीतिक ग्रहण लगाउने काम भइरहेकाले त्यस विरुद्ध सङ्घर्ष गर्न मोर्चा बनेको बताए ।

उनले भने, ‘देशमा थुप्रै आन्दोलन भए तर ती सबै सङ्घर्ष अधुरो रहे । त्यसलाई पूरा गर्नका लागि मोर्चा गठन गर्नतिर लागेका हौँ । नेपाल सबै नेपालीको हो । बहुल राष्ट्र यो देशलाई सबको साझा देश बनाउनुपर्छ ।’
एक सोच राखेर शासन चलाएर संविधान जारी गरिएको उनले छ । यो काम सरकारको कमी कमजोरीले गर्दा नै प्रतिगमनकारीहरू टाउको उठाउने काम गरिरहेको उनको भनाइ रहेको छ ।
उनले भने, ‘मृत भइसकेको शासन व्यवस्था फेरि जीवित हुनु भनेको अहिलेको शासकको कारणले भएको हो । यी शासकहरूले आफ्नै देशका जनतालाई अधिकार दिन मानेनन् । शासकको गलत चिन्तन र सोचका कारण देशमा यो अवस्था आएको हो । अहिलेका ठुला दलहरूले राज्य सञ्चालन गर्न सकेनन् ।’
अब मोर्चाले अन्य अधिकारवादी दलहरूसँग सहकार्य गरेर संयुक्त सङ्घर्षलाई अगाडि बढाउनुपर्न बताए । उनले एक्ला एक्लै लडेर केही प्राप्त नहुने भएकाले सङ्गठित भएर सङ्घर्ष गर्नुपर्ने आवश्यकता आइपरेको बताए ।














