काठमाडौं । मोरङको जहदा गाउँपालिकाबाट ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ । जहदा गाउँपालिका ७ मुसहरी टोलबाट कुल १ हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार २७ वर्षीय उमेश कामतको घरबाट ३४ पोकामा गाँजा फेला परेको थियो। यी पोकाहरूमा १ हजार ८८ केजी गाँजा रहेको बताइएको छ। प्रहरीले कामतको घर नजिकै जहदा गाउँपालिका वडा नं.५ का ३३ वर्षीय अरबिन साहको घरबाट थप १५ केजी गाँजा बरामद गरेको छ।
उनीहरूलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट यो गाँजा भारत तस्करी गर्न लागिएको पाइएको छ। पक्राउ परेका दुवै व्यक्तिलाई हाल मोरङ प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीले यस क्षेत्रमा गाँजा तस्करी नियन्त्रण गर्न विशेष अभियान चलाइरहेको छ।














