काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गरेर काममा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘सरकार र महासंघ (नेपाल शिक्षक महासंघ)बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ नेता कोइरालाले भनेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका छन् । शिक्षा ऐन जारी गराउने सवालमा उनीहरुले यो ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
शिक्षक महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणासमेत गरेका छन् । उनीहरुको हड्तालले विद्यार्थी भर्ना अभियान प्रभावित हुने सम्भावना छ । शिक्षकहरु एसईई परीक्षाको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने अडानमा रहेकाले नतिजा तयारीमा पनि ढिलाइ हुने देखिएको छ ।














