काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको बताएका छन् । दाङमा आइतबार भएको एक कार्यक्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मुलुकको जस्तो चरित्र नेपालको राजसंस्थाले देखाउन नसकेको बताएका हुन् ।

‘यो बेलायतको राजसंस्था जस्तो होइन,’ महामन्त्री थापाले भने,‘निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाइएको छ भने अहिले नारायणहिटीमा बसेको भए के हुने थियो ?’
राजाको दमनमा परेको पार्टी काँग्रेस भएको बताउँदै थापाले राजसंस्थालाई संवैधानिक परिधिमा राख्न काँग्रेसले प्रयत्न गरिराखे पनि नसकेको सुनाए । राजसंस्थाको संवैधानिक चरित्र नभएकाले काँग्रेसले जनताको शासन रोजेको बताए ।














