काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने खण्ड विस्तार गर्न अब दैनिक ४ देखि ६ घण्टासम्म सवारी आवागमन बन्द गरिने भएको छ । १४ किलोमिटर लामो यो खण्ड तीन लेनमा विस्तार हुँदै छ ।

सडक विभागका अनुसार चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म दैनिक रूपमा सवारी आवागमन रोकिनेछ । चैत २७ देखि ३१ गतेसम्मस् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ देखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकिनेछ ।
यो अवधिमा पहाड काट्ने, खाल्टाखुल्टी पुर्याउने, तथा सडक सम्याउने काम हुनेछ । काम समयमा सम्पन्न होस् भनेर दिन र रात फरक तालिका अनुसार बाटो बन्द गरिने निर्णय गरिएको हो ।
यात्रुवाहक र मालवाहक सवारीसाधनका लागि वैकल्पिक रोकिने स्थान पनि निर्धारण गरिएको छ। हेभी सवारीका लागि पूर्वमा अरुणखोला र चोरमारा, पश्चिममा ज्यामिरे हकुई र यात्रुवाहक सवारीका लागि पूर्वमा दुम्किबास, पश्चिममा बर्दघाट चिसापानी स्थान पनि निर्धारण गरिएको छ
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयका अनुसार चाइना स्टेट कम्पनीले सवारी चापका कारण काम गर्न नसकेको गुनासो गरेपछि यस्तो निर्णय गरिएको हो।














