काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाबारे कडा प्रतिक्रिया दिएका छन् । उनले रवि लामिछानेलाई औपचारिक रूपमा पार्टीबाट बिदाइ गर्नुपर्ने बताउँदै पार्टीको भविष्यको लागि नयाँ दिशा अपनाउन आवश्यक रहेको बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार कारागार चलान गरिएको छ । गत शुक्रवार उच्च अदालत बुटवलले उनलाई थुनामा राख्ने फैसला सुनाएको हो । लगत्तै, उनलाई शनिवार भैरहवा लगिएको थियो । शनिवार र आइतबार हिरासतमा बिताएका लामिछानेले सोमबार कारागार चलान भएका हुन् ।
ढकालका अनुसार, लामिछानेलाई पार्टीको नेतृत्वबाट बाहिर निकाल्नु अहिलेको आवश्यकता हो। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्, ‘चुनावी रणनीति अन्तर्गत क्लब बनाउँदै लामिछानेलाई ब्राण्डिङ्ग गरेका थियौँ, तर क्लबलाई पार्टीमा परिणत गर्ने बेला लामिछानेलाई पार्टीको नेतृत्वबाट हटाउनु परेको हो। लामिछानेलाई कहिले पनि पार्टी बनाउनु थिएन, उनले क्लबमै रमाउन चाहन्थे।’
ढकालले लामिछानेलाई अब मामाघर गएको तर्क गरेका छन् । उनले पार्टीलाई क्लबको रूपमा चलाउनुको सट्टा, अब पार्टीलाई सही रूपमा अघि बढाउने र ‘झोले’ र ‘अरिङ्गाल’ कार्यकर्ताबाट मुक्त गर्ने आवश्यकता रहेको बताएका छन् ।
ढकालमो फेसबुक स्टाटस :
काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।
रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुइ-चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन । झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।














