काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार अपेक्षित गतिमा काम गर्न नसकेको बताएका छन्। गुल्मीमा मङ्गलवार आयोजित कांग्रेस जिल्ला अधिवेशनमा उनले सरकारको गति सुस्त भएको र जनताको अपेक्षा अनुसारको परिणाम दिन नसकेको बताएका हुन्।

प्रधानमन्त्री र मन्त्रीहरूले केही महिना मौन बसेर नतिजामुखी काममा ध्यान दिनु आवश्यक रहेको थापाको भनाइ छ । थापाले राम्रो कामको प्रचार काँग्रेसले गर्ने पनि उल्लेख गरे।
जनतामा व्यापक असन्तुष्टि देखिएको भन्दै उनले केही तत्त्वहरूले त्यसमा मट्टितेल खन्याउने काम गरिरहेको आरोप लगाए। असन्तुष्टि बुझेर समाधान गर्नु काँग्रेसको दायित्व भएको उनको भनाइ छ ।
कांग्रेस सरकारको भाग भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै, संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण काँग्रेसको लक्ष्य रहेको उनले स्पष्ट गरे। गलत कार्यमा संलग्न जो कोहीलाई कानुनी कारबाही हुनुपर्ने धारणा पनि उनले व्यक्त गरे।














