Logo
Logo

गेटा अस्पतालमा दरबन्दी स्वीकृत नहुँदा सेवा विस्तारमा समस्या


693
Shares

काठमाडौं । कैलालीमा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत सञ्चालनमा आएको गेटा अस्पताल अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अस्पतालका लागि आवश्यक अस्थायी दरबन्दी सरकारकै ढिलासुस्तीका कारण हालसम्म स्वीकृत नहुँदा सेवा विस्तारमा समस्या देखिएको हो ।

२०७९ सालमा मन्त्रीपरिषद्ले स्वीकृत गरेको एक सय ४१ जनाको अस्थायी दरबन्दी अहिले सम्म पनि कार्यान्वयनमा आएको छैन । चालु आर्थिक वर्षको नवौँ महिना समाप्त हुन लाग्दा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दी फाइल पास गर्न नसक्नु चिन्ताको विषय बनेको छ ।

गेटा अस्पतालका निर्देशक प्रमोद यादवका अनुसार, ५० शय्यामा सेवा दिन सुरु गरिए पनि जनशक्ति अभावले आकस्मिक सेवा २४ घण्टा सञ्चालन गर्न सकिएको छैन । हाल अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक र २० जना नर्सिङ कर्मचारी कार्यरत छन्, तर कुल जनशक्तिको करिब एक तिहाइ मात्र पुगेका छन् ।

सरकारले सात अर्ब रुपैयाँको भौतिक संरचना बनाएर ६ सय शय्याको अस्पताल निर्माण गर्ने योजना अघि सारेको भए पनि जनशक्ति व्यवस्थापनको गम्भीर कमजोरीले सो लक्ष्य अहिलेसम्म केवल दस्ताबेजमै सीमित बनेको छ ।

अस्पतालले सेती अञ्चल अस्पतालमा नभएका विशेषज्ञ सेवा दिने दाबी गरे पनि, दरबन्दी स्वीकृति नहुँदा त्यो योजना कार्यान्वयनमा आउन सकिरहेको छैन । सरकारी उदासीनता र प्रशासनिक ढिलासुस्तीका कारण गेटा अस्पतालको सेवा विस्तारमा प्रभाव परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्