काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका दूर्गन्धित वाग्मती र विष्णुमती नदीलाई सफा बनाउने आवश्यक रहेको बताएका छन् ।

बागमती एकीकृत सभ्यता ३१औं वार्षिकोत्सवमा बोल्दै सिंहले उपत्यकाका नदीहरूबाट फैलिएको दुर्गन्ध हटाएर ती नदीलाई स्वच्छ र व्यवस्थित बनाउन ठोस योजना आवश्यक रहेको बताए ।
‘हामीले अब योजना बनाएर अगाडि बढ्नुपर्छ, अरु विकल्प छैन,’ सिंहले भने,’नदीलाई सफा बनाउने, दुर्गन्ध हटाउने जिम्मेवारी हाम्रो हो।’
वाग्मती नदी किनारमा अवस्थित विभिन्न सांस्कृतिक सम्पदाहरूलाई जोड्दै अघि बढाइएको ुहेरिटेज वाकु परियोजना प्रभावकारीरूपमा लागू हुन नसकेकोप्रति पनि उनले असन्तुष्टि जनाए ।
‘नदी कोरिडोर निर्माणको काम पनि प्रभावकारीरूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘यसका लागि सबै निकायबीच समन्वय गरेर व्यवस्थितरूपमा कार्य अघि बढाउनु आवश्यक छ।’
सिंहले वर्षायाममा आउने बाढीको नियन्त्रण, नदी सरसफाइ, र कोरिडोर तथा हेरिटेज वाकको व्यवस्थापन तत्काल आवश्यक भएको बताए । साथै, वाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार भइरहेको जानकारी पनि दिए ।














