काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनरत शिक्षकहरूको मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीले शिक्षकहरूको न्यायोचित माग तत्काल वार्ता मार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमा देखा परेका समस्याहरू समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए । ‘शिक्षा सम्बन्धी नीति, योजना, ऐन, कानुन तथा कार्यक्रमहरूको समीक्षा गरी आवश्यक सुधार गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलताको अन्त्य गर्न जरुरी छ,’ उनले भने ।
बस्नेतका अनुसार हाल सरकारको अदूरदर्शी र त्रुटिपूर्ण नीतिले शिक्षा क्षेत्र दिशाहीन र गुणस्तरहीन बन्दै गएको छ । जसपाको ठहरमा शिक्षाको समुचित विकास बिना मुलुकको समृद्धि र भविष्य सुनिश्चित हुन सक्दैन ।
पार्टीले समान, गुणस्तरीय र पहुँचयुक्त शिक्षालाई सबै नागरिकको अधिकारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत शिक्षकहरूसँग संवाद र समझदारीको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई तत्पर हुन आग्रह गरेको छ ।














