काठमाडौं । स्थानीय तहका क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले चैत २१ गते कार्यालयको मर्यादाविपरीत अनुशासनहीन, गैर कानुनी, र अमर्यादित व्यवहार गरेको आरोप लगाएका छन् । उनीहरूले घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न माग गर्दै तीन दिनभित्र छानबिन समिति गठन गर्नुपर्ने अनुरोध गरेका छन् ।

यूनियनहरू, कर्मचारी सङ्घ र अन्य सङ्गठनहरूले ज्ञापनपत्र बुझाउँदै पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न पनि माग गरेका छन् ।
उक्त घटनापछि प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमाथि गरिएको धरपकड र आपत्तिजनक भनाइहरूलाई भर्त्सनीय र दण्डनीय भन्दै दोषीलाई कानूनी कारबाही गर्न माग गरिएको छ । साथै, मिडियामा वडाध्यक्षहरूको विचारलाई गलत तरिकाले प्रस्तुत गर्ने षड्यन्त्रको पनि जाँच गर्नुपर्ने बताइएको छ।

















