Logo
Logo

सात वर्षीया बालिकामाथि करणी, बयान फेर्न दबाब


441
Shares

काठमाडौं ।  कैलालीको टीकापुरमा सात वर्षीया बालिकामाथि करणीको आरोपमा एक किशोर पक्राउ गरिएको छ । टीकापुर नगरपालिका–४ मा रहेको एक संस्थागत विद्यालयमा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोर पक्राउ गरेको हो ।

बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत किशोरलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार  बालिकामाथि बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोरलाई पक्राउ गरिएको छ । पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीका आधारमा किशोरलाई चैत ११ गते पक्राउ गरिएको हो । प्रहरीमा चैत ६ गते सात वर्षीया बालिका माथि करण भएको भन्दै जाहेरी दर्ता भएको हो । बालिकाको योनीबाट रगत बग्न थालेपछि उनीमाथि जबरजस्ती करणी भएको खुलेको थियो ।

पीडित बालिकाका परिवार योनीबाट रगत बगेपछि उपचारका लागि उनलाई अस्पताल लगेका थिए । चिकित्सकले चेकजाँचका क्रममा उनीमाथि बलात्कार भएको बताएपछि बालिकाले घटनाबारे बताएकी थिइन् ।

मेडिकल रिपोट र बालिकाको बयानका आधारमा उनकी आमाले इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी हुन् । तर, अहिले भने घटना मिलाउनुपर्ने भन्दै पीडित परिवारमाथि अनावश्यक दबाब दिइएको छ । बालिकाका बुवाले प्रहरीलाई आफ्नो छोरीमाथि बलात्कार नभएको भनेर भन्न विद्यालयका शिक्षक र गाउँका अगुवाले दबाब दिइरहेको गुनासो गरेका छन् । तर, आफूले भने छोरीमाथि बलात्कार गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उनको माग छ।

आफू घरमा नभएका बेला श्रीमती र छोरीलाई भेटेर अनावश्यक तनाव दिँदै अदालतमा मुद्दामा बयान फेरेर होस्टाइल गर्न दबाब दिइएको उनले बताएका छन् । विद्यालयका शिक्षकहरूले बदनाम हुने भन्दै पैँसा लेनदेन गरेर भए पनि मुद्‍दा कमजोर बनाउन भूमिका खेलिरहेको पीडित पक्षको गुनासो रहेको छ । 

बालिकाका बुवाले बयान फेरेर मुद्‍दालाई होस्टाइन गर्न अनेक खालका दबाब र प्रभाव आइरहेको भन्दै मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्