काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का लागि देशका सबै जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न भएको जनाएको छ । दुर्गम र हिमाली जिल्लासहित अधिकांश स्थानीय तहमा पुस्तकहरू पुगिसकेको केन्द्रले जनाएको हो। मुगुका दुई स्थानीय तहबाहेक अन्य सबै स्थानमा वितरण भइसकेको छ ।

केन्द्रले यो सत्रका लागि कुल १ करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो । चैत्र २९ गतेसम्ममा ९ वटा प्रादेशिक वितरण केन्द्रमार्फत ७५ लाख ९४ हजार ७५ थान पुस्तक बिक्री भइसकेको छ भने बाँकी आवश्यकता अनुसारको मौज्दात रहेको छ ।
यदि कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा सम्बन्धित वितरण केन्द्र, स्थानीय तहको शिक्षा शाखा वा शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
केन्द्रले देशभर रहेका सूचीकृत बिक्रेताहरूलाई नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै पाठ्यपुस्तक विद्यालयहरूमा पुर्याउने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।















