Logo
Logo

६० लाख लुटपाट घटनामा २० जना पक्राउ


1.4k
Shares

काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधवार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको प्रहरीले जनाएको छ ।

लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

प्रहरीका अनुसार लुटपाट भएको बताउने व्यक्ति बौद्ध बस्ने रितेश लामा हुन् । रकम लुटिएपछि बुधवार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए ।

उनले प्रहरीलाई बताए अनुसार जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि आफू रकम लिएर गएको बताएका छन् । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनको दाबी छ । जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । रकम लुटेपछि केही परसम्म भने कारमार्फत लामाले पिछा गरेको पनि देखिएको प्रहरीले जनाएको छ । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार हुन्छ ।

पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् ।

लुटिएको बताउने लामाले सुरुमा ६० लाख लुटिएको बताएका थिए । पछि हिसाब गर्दा ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबारे अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्