काठमाडौं। ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । उक्त शवको पहिचान भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ । मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् । उनी यही चैत ११ गतेदेखि हराएको प्रहरीले जनाएको छ ।

एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानीट्यांकी फोहर भएको किरा समेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको हो । बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखत समेत भइसकेको प्रहरीले जनाएको छ ।
मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरू त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो ।
बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएका छन् ।














