काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारंगा सुवेदीको इजलासले सङ्ग्रौलालाई अदालतको अवहेलना हुने गरी सङ्ग्रौलाले उक्त अभिव्यक्ति दिनुको कारण लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।

तीन दिनभित्र लिखित जवाफसहित बयानका लागि उपस्थित हुन आदेश जारी गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुने गरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुपर्या छ ।’ सङ्ग्रौलाले पटक–पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति जारी राखेकी थिइन् । आदेशविरुद्ध टिकाटिप्पणी गरेर उनले अदालतको अवहेलना गरेको जिकिरसहित कानुनका विद्यार्थी प्रान्जल केसीले ज्वालालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।














