काठमाडौं । सत्तारुढ नेकपा एमालेले अलिहेको सरकार परिवर्तन हुने कुनै पनि सम्भावना नरहेको बताएको छ ।
सोमबार बसेको सचिवायल बैठकमा यसबारे छलफल भएको जनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो राजनीतिक घटनाक्रम हुने सम्भावना नरहेको स्पष्ट पारे ।

उनले भने, ‘यो नितान्त अर्सान्दभिक कुरा हो, अहिले मुलुकका सामु जेजस्ता समस्या छन्, त्यहाँ कहीँ पनि सरकार परिवर्तनको चर्चा हुने पनि कुरा न नेपाली जनताले त्यसलाई मन पराउँछन्, न त्यो कुनै समाधान हो । न त्यस्तो कुनै सम्भावना छ ।
असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन । त्यस्ता कुनै राजनीतिक घटनाक्रमको कुनै पनि सम्भावना देख्दिनँ ।’
पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन हुने परिस्थिति बन्दै गइरहेको दाबी गरेका छन् । उनले आइतबार मात्रै अब यो सरकार धेरै अगाडिसम्म नजाने प्रतिक्रिया दिएका थिए ।














